मिडियाबाजी डटकम काठमाडौं,माघ १ । जमिनमा शक्ति सन्चय हुने क्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने सम्भावना बढेको छ । २०७२ सालमा गोरखा भूकम्पका कारण उत्पन्न भएको शक्ति बाहिर नगएर काठमाडौं उपत्यकाको जमिनमुनि आएर अड्किएकाले काठमाडौंमा ठूलो भूकम्प जाने सम्भावना बढेको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीलाई उद्धृत गर्दै आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले यो समाचार तयार पारेकी छिन् । समाचारमा लोकविजय अधिकारीले भनेका छन्, “काठमाडौँ उपत्यकादेखि तराईको जमिनमुनि जम्मा भएको भूकम्पीय शक्ति चिप्लिएन । त्यस्तो शक्ति तराई हुँदै बाहिर ननिस्केसम्म काठमाडौँमा अर्को ठूलो भूकम्पको जोखिम उच्च बनेको हो ।” अधिकारीले भूकम्प जाने भन्न सकिए पनि कहिले जाने भन्ने भन्न नसकिने पनि बताएका छन् ।