मिडियाबाजी डटकम काठमाडौँ , माघ २० । राटनगर महानगरपालिका– ५ विशाल चोकमा १४ वर्षीय चाँदनी यादवको हत्यापछि आमाबुवा र मावलीतर्फका आफन्तले चार फिट गहिरो खाडल खनेर गाढेको खुलेको छ ।
प्रेमीबाट छुटाउन बाबुआमा र मावली परिवार मिलेर हत्या गरेपछि मावली घरदेखि १२५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रवार चाँदनी यादवको शव फेला परेको थियो ।
चाँदनीको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा हो । उनी पुसको पहिलो हप्ता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । आमा घर आएको एक महिनापछि ११ माघमा हत्या भएकोे हुनसक्ने प्रहरीको अनुमान छ ।
यद्यपि, प्रहरीले हत्याको मिति पत्ता लगाउन घटनाको अनुसन्धानका गर्दै आएको र पक्राउ परेकाहरूबाट भने घटनाका बारेमा थप कुरा खुल्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।
‘भारतमा १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो । एक पटक ती व्यक्तिसँग भागेपछि चाँदनीको बुवा आमाले मामाघर ल्याएका रहेछन् । ती व्यक्तिसँग छुटाउने उद्देश्य राखी बाबु आमाले उनलाई मावली लिएर आए । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसिन् । रिसको झोँकमा सबै मिलेर हत्या गरेपछि घटना लुकाउन शव गाडेको पाइयो,’ घटनाको अनुसन्धान गर्दै आएको एक प्रहरी अधिकृतले भने, ‘अहिले मामाघर तर्फका पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौँ । थप विषय खुल्दै जानेछ । हामीले गहन तरिकाले अनुसन्धान सुरु गरेका छौँ ।’
प्रहरीले यस घटनामा आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरी नियन्त्रणमा चाँदनीका मावली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मिला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डल लगायतलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
प्रहरी नियन्त्रणमा रहेकाहरूले सोधपुछ गर्दा वास्तविक कुरा नबताइरहेको जानकारी डीएसपी जोशीले दिए । प्रहरीले थप प्रमाण जुटाउने काम गरिरहेको उनले बताए ।
हत्या गरेको भोलिपल्ट आमा र दाजु लागे घर
चाँदनीको हत्या गरेपछि मामा घरबाट १ सय २५ फिट उत्तरमा ४ फिट गहिरो खाल्डो खनेर शरीरका कपडा सहितको शव गाडिएको थियो । चाँदनीको हत्यापछि शव व्यवस्थापन गरेर भोलिपल्ट आमा र दाजु भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।