मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १४।चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेसी झर्न थालेका छन् ।
यही कार्तिक महिना सुरु भएदेखिवृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कार्तिकदेखि फाल्गुन दोस्रो सातासम्म बेसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताए ।
यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् ।चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ ।
मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेसी झर्ने गरेका हुन् । चिसोको मौसममा उपल्लो मुस्ताङमा सञ्चालित माध्यमिक तथा प्राथमिक विद्यालयहरूले पोखराको विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेर पठनपाठन सञ्चालन गर्ने गरेका छन् । घरमा पालेका बस्तुभाउ बूढाबूढीको जिम्मा लगाएर परिवारका अन्य सदस्य कार्तिक पहिलो हप्तादेखि घरबाट निस्किएका छुसाङकी डग्मी शेरचनले जानकारी दिए ।