मिडियाबाजी डटकम काठमाडौँ ,वैशाख २७। संखुवासभा । हिजो संखुवासभा जिल्लास्थित चिनको सिमानामा पुस्तकालय स्थापना कार्यक्रम सम्पन्न भएको छ।
शैक्षिक संस्थामा पुस्तकालय, गाउँटोलमा पुस्तकालय ,घर घरमा पुस्तकालय र विद्यार्थी अभिभावकको निम्ति पुस्तकालय भन्ने मूल उद्देश्यका साथ स्थापना भएको साब्लाबुङ पुस्तकालय अभियानले श्री पोप्टी भन्ज्याङ आधारभूत विद्यालय भोटखोला गाउँपालिका वडा नं -४, स्याक्सिला संखुवासभामा एक लाख रुपैयाँ भन्दा बढी मूल्य बराबारको पुस्तकहरू हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएको पुस्तकहरूमा बाल ,प्रौढ, साहित्य, कृषि ,स्वास्थ्य , प्रविधि विभिन्न विधाका पुस्तकहरू रहेको छ ।पुस्तकालय अभियानले विगत आठ वर्षदेखि विभिन्न जिल्लाका विद्यालयहरूमा पुस्तकालय स्थापना गर्दै आएको छ । उक्त पुस्तकालय हस्तान्तरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका महिला सदस्य निमित्त अध्यक्ष सेजुङ भोटेले गरेकी थिइन् निमित्त प्रधानाध्यापक लिला बस्नेत कटुवालले दुर्गम गाउँका विद्यालयहरूमा पुस्तकालय स्थापना गर्ने अभियानको को प्रशंसा गर्दै स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथि पुस्तकालय अभियानका प्रतिनिधि मिथुन चाङ्वा भोटेले वडा प्रतिनिधि धर्म गुरू लामा अभिभावक विद्यार्थीहरू समारोहमा पुस्तकालय विहिन विद्यालयले गुणस्तरिय शिक्षा दिनु नसक्ने धारणा राखे । उनले यस पुस्तकालय ले विद्यार्थी सँगै अभिभावकहरूको निम्ति पनि उपयोगी हुने बताए। उनले आधारभूत रूपमा स्थापना भएको पुस्तकालयलाई अभिभावक स्थानिय सरकारले बिस्तार गर्दै लैजानु पर्नेमा थप जोड दिए।
कार्यक्रमको अध्यक्षले पुस्तकालय अभियानलाई आभार व्यक्त गर्दै पुस्तकालय लाई राम्रो व्यवस्थापन बिस्तार गर्ने बताइन् । कार्यक्रममा विद्यार्थीहरूले कविता वाचन गीत गायन तथा नृत्य समेत प्रस्तुत गरेका पुस्तकालय अभियानका अध्यक्ष राज कुमार राईले मिडियाबाजी डटकमलाई जानकारी दिए । अध्यक्ष राईले पुस्तकालय अभियान अन्तर्गत नेपालको दुर्गम स्थानमा, पुस्तकालय विहिन विद्यालयहरूमा, करागार र सामुदायिक पुस्तकालयहरूमा समेत क्रमशः पुस्तकालय स्थापना गर्दै जाने मिडियाबाजीलाई बताए।