चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल

  मङि्सर ०३, २०८०

मिडियाबाजी डटकम काठमाडौं, मंसिर ३ ।  चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले हराउँदै तेस्रो भएको हो ।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् ।

बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिइन् । एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो। जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् ।

बलिङतर्फ नेपालकी सङ्गिता राई, इन्दू बर्मा, सीता राना मगर, खुशी डङ्गोल र सोनी पाख्रिनले एक एक विकेट लिइन् । महिला टी-२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए । तान्जानिया र हङकङबीच उपाधिका लागि आज ११ः४५ बजे खेल हुँदै छ ।

तपाईंको प्रतिक्रिया

थप खबर