मिडियाबाजी डटकम काठमाडौं, मंसिर २६।गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ ।
जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले अनुसन्धान थालेका हुन् । त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र विभागका प्राध्यापक डा.कविराज पौडेलसहित नौ जनाको समूहले भार्सेका विभिन्न ठाउँमा पुगेर तामा, फलाम र सिसाको नमूना सङ्कलन गरेर शनिबार फर्किएको छ ।
उनीहरूले पुस मसान्तभित्र नमूनाको नतिजा दिनेछन् । भार्सेको देउराली, चाहारे, भैँसे, झुलेनी, चालपात, लुराङग, पैयाँपाटा, खैरेनी र खाडा गाउँमा रहेको विभिन्न खानीबाट नमूना सङ्कलन गरिएको हो । भार्सेबाट तामा, फलाम र सिसा बन्ने कच्चापदार्थ धाउ बाग्लुङमा लगेर जाने गरेको पनि इतिहासका रुपमा रहेको स्थानीय नरु बुढाथोकीले बताइन् । भार्से गाउँ थाप्ले लेकको काखमा छ । यहाँ पर्यटकीय संरचना पनि बन्दै गएका छन् ।६ दशक पहिले तामा, फलाम र सिसाको उत्खनन गरिएको इतिहास रहेको भार्सेमा फेरि अनुसन्धान गरी उत्खनन गर्न सत्यवती गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको हो ।