मिडियाबाजी डटकम काठमाडौं,पौष २४ । सर्वसाधारणका लागि कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका कामदारका लागि आइपिओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणको लागि जारी गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ६० करोड रूपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रूपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरिसकेको छ । बाँकी रहेको सेयरमध्ये ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ ।
सो मध्ये पनि २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएको र बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपिओ खरिदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।