मिडियाबाजी डटकम काठमाडौँ, चैत १० । आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने भएका छन् । यसपटक देशभर दुई हजार ६४ वटा केन्द्र रहनेछन् भने प्रत्येक केन्द्रबाट दुई सय ५० विद्यार्थीले परीक्षा दिनेछन् ।
कक्षा दशका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । एसइईका लागि जनक शिक्षा सामग्री केन्द्रले प्रश्नपत्र छपाइको कार्य गरेको थियो । प्रश्नपत्र पनि जिल्ला–जिल्लामा ढुवानी भइरहेको छ ।
यसपटकको परीक्षामा सबैभन्दा बढी परीक्षा केन्द्र रहेको जिल्ला काठमाडौं हो । जहाँ एक सय २७ वटा परीक्षा केन्द्र रहनेछन् भने सबैभन्दा कम एक–एकवटा परीक्षा केन्द्र रहेको जिल्ला मनाङ र मुस्ताङ हुन् । मनाङमा ४३ र मुस्ताङमा एक सय सातजना विद्यार्थी छन् भने काठमाडौंमा ३८ हजार ८३१ विद्यार्थी छन् ।
७७ हजार पाँच सय जनशक्ति परिचालन
एसइई परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिँदै छ । यसमध्ये सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक निरीक्षक र कार्यालय सहयोगी रहेछन् । बोर्डका अनुसार एउटा परीक्षा केन्द्रमा कम्तीमा पनि सबै गरी ४० जना जनशक्ति खटिनेछन् । सुरक्षा संवेदनशीलता भएका केन्द्रमा भने बढी जनशक्ति परिचालन हुनेछ ।