एसइइमा लेटर ग्रेडिङ प्रणालीले धेरै विद्यार्थी फेल हुने

  असार ०७, २०८१

मिडियाबाजी डटकम काठमाडौँ ,आषाढ ६। लेटर ग्रेडिङ प्रणालीमा विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ ।लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिनेछ ।साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक ल्याएको छैन भने मूल प्रमाणपत्र नै नपाउने निर्देशिकामा व्यवस्था छ ।तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक पाएको छैन भने प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ र ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ ।जबकि पुरानो ग्रेडिङ प्रणालीमा चाहिं सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा पाएको अंकलाई जोडिन्थ्यो र ईसम्म ग्रेड निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र दिइन्थ्यो ।सैद्धान्तिक विषयतर्फ सी (३२ अंक) वा त्यसभन्दा तल्लो ग्रेड प्राप्त गरेका परीक्षार्थीले चाहेमा ग्रेड वृद्धिको परीक्षा दिन पाउँछन् । तर उनीहरुले ल्याउने अंकको आधारमा के विषय पढ्न पाउने र के नपाउने भन्ने सरकारले तोकिदिएको थियो ।ग्रेडिङ (अक्षरांकन) प्रणालीले सिकाइको गुणस्तर खस्किएको आवाज उठेपछि सरकारले विद्यालय शिक्षामा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

कार्यदलको सुझावका आधारमा विद्यालय तहमा उत्तीर्ण हुन सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।परीक्षा नियन्त्रक नन्दलाल पौडेल पनि अनुत्तीर्ण हुनेको संख्या बढी हुने जोखिम रहेको स्वीकार गर्छन् ।

विश्व निकेतन मावि काठमाडौंका प्रधानाध्यापक हेरम्बराज कँडेल यस वर्षको नतिजामा धेरै अन्तर आउने अनुमान गर्छन् । उनले भने, ‘पहिलो थ्यौरी (सैद्धान्तिक) र प्राक्टिकल (प्रयोगात्मक) को जोड्दा उत्तीर्ण हुनेथियो, अब थ्योरीमै पूर्णांकको ३५ प्रतिशत ल्याउनुपर्ने भएकोले एनजीको संख्या धेरै हुने मेरो बुझाइ छ ।’

शिक्षाविद् मीनाक्षी दाहाल भने यो वर्षको नतिजामा फेल हुनेको संख्या अत्यधिक हुने मात्र होइन, जम्मा अंक धेरै ल्याउने र फेल हुनेबीच ठूलो खाडल देखिने अनुमान गर्छिन् । उनी भन्छिन्, ‘सैद्धान्तिकमा ३५ देखि ४० प्रतिशत अंक ल्याए विद्यालयले दिने प्रयोगात्मक अंक शतप्रतिशत दिंदा उनीहरुको जम्मा अंक धेरै हुन जान्छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर