मिडियाबाजी डटकम काठमाडौँ , असोज ११ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि राति रात्रिबस चलाउन नपाइने भएको छ ।
विपद्का घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नपाइने निर्णय गरेको हो । बिहीबारदेखि आइतबारसम्म चार दिन भारीदेखि अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ ।
बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो ।
प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजान सूचना जारी गरेको छ ।