मिडियाबाजी डटकम काठमाडौँ , मंसिर १२ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ३८.८१ अंकले बढेर २७५५.४७ विन्दुमा पुगेको हो । अघिल्लो दुई कारोबार दिन बढेर बन्द भएको नेप्सेले आजपनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३३ अंकले बढेको थियो । सो दिन ७ अर्ब ४४ करोड मूल्य बराबरको कारोबार भएको थियो। त्यसअघि सोमबार ६ अर्ब ३४ करोडको सेयर कारोबार भएको थियो । आज ३१६ स्क्रिप्सको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८४० रुपैयाँमा खरिद बिक्री भए ।
दोहोरो अंकले बढेको सेयर बजारमा ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । विशाल बजार,कर्णाली डेभलपमेन्ट बैंक,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था,सप्तकोशी डेभलपमेन्ट बैंक,मानुसी लघुवित्त वित्तीय संस्था र ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेको हो । आधा दर्जन बढि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा यसदिन जानकी फाइनान्स शीर्षस्थानमा रह्यो । सो कम्पनीको ३४ करोड बढी मूल्यको सेयर कारोबार भयो । एनआरएन इन्फ्रास्टक्चरको ३३ करोडको सेयर कारोबार हुँदा पिपुल्स हाइड्रोपावर र नेपाल फाइनान्सले २४र२४ करोडको सेयर कारोबार गरे ।