मिडियाबाजी डटकम काठमाडौं,माघ ५ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र कर्णालीसहित गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ ।