मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ४ । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय देश राजनीतिक संक्रमणमा परेको बताएका छन् । एमाले केन्द्रीय वन तथा वातावरण विभागद्वारा आयोजित वनको दिगो व्यवस्थापन, समृद्धि र जलवायु न्याय विषयक प्रशिक्षण तथा राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै पोखरेलले अहिले परिवर्तन, राजनीतिक दल र व्यवस्था प्रति सुनियोजित रूपमा वितृष्णा जगाउने प्रयत्न भइरहेको बताएका हुन् ।
‘राजनीतिलाई जब अस्थिर बनाउने गरिन्छ, त्यति वेला प्रकृतिको दोहन बढ्छ’, उनले भने । बलिया राजनीतिक दल राज्य र सरकार हुँदा मात्र नागरिक र देशका साधन स्रोतको संरक्षण गर्न सक्ने उनको भनाइ छ । त्यसैले एमालेले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियान चलाएको उनले बताए ।
‘एमालेको नीति राष्ट्रको नीति बन्यो भने मात्र राष्ट्र बलियो बन्छ, त्यसको लागि एमाले बहुमत प्राप्त राष्ट्रिय शक्ति बन्नु पर्दछ’, उनले भने । हरेक कुराको एक अर्कासँग अन्तरसम्बन्ध हुने बताउँदै उनले वनको कुरा वनमा मात्र सीमित नहुने धारणा राखेका छन् । वन क्षेत्र बलियो बनाउन पनि बलियो राजनीतिक शक्ति आवश्यक रहेको उनले स्पष्ट पारे । अहिले सरकारसँग जोडिएर गरिएका हल्लामा कुनै सत्यता नभएको बताउँदै उनले राजनीतिक स्थिरता राख्ने र देशलाई निकास दिने कुरामा सत्तारुढ दल एकमत रहेका बताएका छन् ।
दुई पार्टीका शीर्ष नेतृत्वबीच राम्रो सम्बन्ध छ, सरकार ढल्छ भन्ने कुरामा कुनै सत्यता छैन’, उनले भने । समाजको अत्यधिक ठुलो संख्या परिवर्तनको पक्षमा नै रहेकोले राजतन्त्रका पक्षधरका कुनै सपना पूरा नहुने महासचिवले स्पष्ट पारे । यो आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर नगर्ने पोखरेलको भनाइ छ । तथापि राजतन्त्रको समयमा भोगेको कष्ट नयाँ पुस्तालाई बताउन जरुरी रहेको पोखरेलले बताए । अन्यथा उनीहरू राजतन्त्रवादीहरूको भ्रमको खतीबाट प्रभावित हुनसक्ने पोखरेलको भनाई छ ।